Thursday, April 23, 2015

युवतीलाई जंगलमा जबरजस्ती सिन्दुर हालियो, भोलिपल्टै आत्महत्या

प्रेम सुनार गुल्मी, वैशाख १०।
 गुल्मी छापाहिले गाउँकी एक युवतीलाई केही दिनअघि जंगलबाट उठाएर एक युवाले जबर्जस्त सिन्दुर हाली भित्र्याए । त्यसको भोलिपल्टै युवतीले बेहुलीकै पहिरनमा भीरबाट फालहालेर आत्महत्या गरेकी छिन् ।
छापाहिले–३ निवासी गोठे विश्वकर्माकी १६ वर्षीया छोरी गीताले विवाह गरेको दोस्रो दिनै भीरबाट हाम्फेर आत्महत्या गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले भने, ‘तर, कानुनी अभावमा हामीले कारबाही गर्न मिलेन । उनीहरू आपसमा मिलेर गएका छन् ।’
गीतालाई सोही गाविस वडा–८ हिलोगाउँका २३ वर्षीय राहुल विश्वकर्माले माइजु पर्ने दीपा विश्वकर्माको सहयोगमा जबर्जस्ती सिन्दुर हाली घर भित्र्याएका थिए । प्रहरी निरीक्षक गुप्ताका अनुसार दीपा र राहुललाई हिरासतमा लिएर राखिएको थियो र उनीहरूलाई बाहिरै मिल्न लगाएर पठाइएको छ ।
‘आमा, मलाई जंगलमा जबर्जस्ती सिन्दुर हालेर राहुलले घर भित्र्याएको छ । दुईपटकसम्म भागेँ । तर, उनीहरूले मलाई बाख्रो लखटेझैँ लखेटेर घर ल्याएर भित्र्याएका छन्, मलाई लिन आउनुस् आमा । म यहाँ बस्दै बस्दिनँ भनेर छोरी गीताले रुँदै उसै साँझ फोन गरेकी थिई,’ गीताकी आमा रमाले भनिन्, ‘हामी लिन जाँदा त्यस्तो खबर सुन्नुप¥यो ।’
गीताका बाबुआमा लिन जाँदा गीता घरमा थिइनन् । ‘हामीले खोई छोरी भनेर सोध्यौँ, घरपरिवारले साथीहरुसँग घुम्न गएकी छे भने । पछि छोरीसँगै गएका साथीहरूसँग सोध्यौँ । उनीहरुले हामीलाई उछिनेर दौडिँदै पर भीरमा गएर हामफालेको बताए,’ रमा भन्छिन्, ‘यिनीहरुले जबर्जस्ती गरेरै मेरी छोरीको ज्यान गएको छ । हामीले न्याय पाउने कि नपाउने ?’
मृतक गीताका दाइ अम्मन विश्वकर्माले बहिनीलाई अपहरण गरिएको र मर्न बाध्य पारिएकाले घटनामा संलग्नलाई कानुनी कारबाही हुनुपर्ने बताए । तर, प्रहरीले सहयोग नगरेको उनको गुनासो छ ।
उनका अनुसार मंगलबार राहुलका बाबुछोरासहित चार–पाँचजना मानिस गीतालाई माग्न गएका थिए ।
त्यस दिन गीता छापाहिले स्वास्थ्यचौकीमा औषधि लिन गएकी थिइन् । गीताले नै केटा हेरोस् भनेर गीताका बाबुले उनीहरुलाई बुधबार आउन भनेका थिए । तर, उनीहरूले गीता आउने बाटो ढुकेर जबर्जस्ती सिन्दुर हालेर लगेको अम्मनले बताए ।
आफूले जबर्जस्ती सिन्दुर हालेर लगेको राहुलले स्विकारेका छन् । ‘म विवाह गर्नका लागि भारतबाट एक महिनाअघि घर आएको थिएँ,’ राहुलले भने, ‘केटी हेर्दै जाँदा गीतालाई मैले असाध्यै मन पराएँ । माइजु दीपालाई फकाउन लगाएँ । तर, गीताले मानिनन् । नमाने पनि मैले सिन्दुर हालेको हुँ । उनले अहिले मलाई मन नपराए पनि पछि मन पराउलिन् भन्ने ठानेको थिएँ । तर, उनले दोस्रो दिनै ज्यान फालिन् । अहिले पछुतो लागेको छ ।’
स्थानीयका अनुसार गीताका परिवार सुकुम्बासी हुन् भने राहुलका परिवार पनि मजदुरी गरेर जीविका चलाउँदै आएका परिवार हुन् । दुवै गरिब परिवार भएकाले मुद्दामामिला नगर्न स्थानीयले सुझाएका थिए । गीताका बाबुआमालाई राहुलको परिवारले केही क्षतिपूर्ति दिएर मिलापत्र गरिएको छ ।

0 $type={blogger}: