गगनशिला खड्का गुल्मी २४ फाल्गुण ।
पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपनि यस पटक भने कुनै पनि हालतमा संविधान लेखिने गुल्मीका सभाषद महिलाहरुले बताएका छन् । गुल्मी उद्योग वाणिज्य संघ र महिला उद्यमी संघ गुल्मीले शनिवार संयुक्त रुपमा गरेको सम्मान कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सभाषद सुवर्ण ज्वारचनले अहिले पनि जनतामा संविधान बन्दैनकी भन्ने चिन्ता रहेकाले कुनै पनि हालतमा संविधान जारी गर्ने बताईन् । उनले पहिले संविधान सभामा गएकाले राष्ट्रको ढुकुटी सिद्धाए अव गएका पनि त्यस्तै हुन् भन्ने शंकालाई निर्मुल पार्ने बताईन् । ज्वारचनले भनिन् “जनतामा अहिले पनि पहिलेकाले जस्तै अहिलेका पनि खान गएका हुनु खान्छन तर यसपाली त्यस्तो कदापी हुन दिदैँनौँ ।”
गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मान कार्यक्रममा अर्की सभाषद दिलशोभा पुनले पहिले संविधान बन्दैनकी र बनाउँदैनकी ?भन्ने त्रास हटाउन आग्रह गरिन् । उनले भनिन् “संविधान पक्कै पनि बन्छ,यसलाई बन्दैनकी र बनाउदैनन्की भन्ने चिन्ता हटाउँनुस ।” यस्तै कार्यक्रममा सहभागी सभाषद कमला विश्कर्माले संविधान निर्माण र विकास निर्माणलाई संगसंगै अगाडि बढाउने बताईन् । उनले जनताले दिएको पहिलो जिम्मेवारी संविधान निर्माण भएकाले त्यसलाई पुरा गर्न प्रतिबद्ध भएर लाग्ने बताईन् । समयमै संविधान निर्माण गर्नका लागि आफुहरुले अभियान थाल्ने विश्वकर्माको भनाई छ । कार्यक्रममा सहभागी सभाषद महिलाले गुल्मी जिल्लावाट ४÷४ जना महिला संविधान सभामा पुगेका कारण अव हुने स्थानिय निकायको निर्वाचनमा महिलाको सहभागिता बढी हुनुपर्ने बताए । उनिहरुले अव हुन लागेको स्थानिय निकायको निर्वाचनमा गुल्मीका गाउँगाउँका महिलाहरु वार्ड अध्यक्ष,गाविस अध्यक्ष र जिल्ला सभापतिको दावेदार हुनपर्ने कुरामा जोड दिए । साथै उनिहरुले गुल्मीको पर्यटन तथा आर्थिक विकासका लागि आफुहरुले एकजुट भएर काम गर्ने बताए । सभाषद महिलाहरुले एकैस्वरमा भने “ हामीहरुलाई गाईडलाईन दिनुहोस,हामी त्यस अनुसार नै अगाडि बढ्छौँ ।”
कार्यक्रममा समाजसेवी नर प्रसाद श्रेष्ठले गुल्मीको प्रतिनिधित्व गर्दै ४ जना महिला संविधान सभामा पुगेकाले समग्र जिल्लाको विकासमा पहल थाल्न आग्रह गरे । गुल्मी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले गुल्मी उद्योग वाणिज्य संघले आर्थिक क्रान्तिका लागि आफनै लगानीमा केरा खेती शुरु गरेको बताए । उनले गुल्मीका दुई स्थानमा वाणिज्य संघले केराखेती शुरु गरेको बताए । भण्डारीले जनताले चाहेको संविधान जारी गर्न गुल्मेली सभाषदको भुमिका महत्वपुर्ण बनाउन सुझाब दिए । यस्तै महिला उद्यमी संघ गुल्मीकी संयोजक शिला श्रेष्ठले महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ सम्म आर्थिक क्रान्ति सम्भव नहुने बताईन् । कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको अध्यक्षता र महासचिब कृष्ण प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
0 $type={blogger}:
Post a Comment