Tuesday, March 4, 2014

पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समय लम्बियो

पि.एम.सर्तुङ्गी मगर गुल्मी, फागुन २० ।

मंगलबार सकिने गरि गुल्मीको सदरमुकाम तमघासमा सुरु भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधबारसम्मका लागि लम्बिएको छ । छात्र भलिबलको अन्तिम खेल मात्र बाँकी रहेकाले समय प्रतियोगिताको समय लम्बिएको हो । बुधबार विहान छात्रतर्फको भलिबल प्रतियोगिताको अन्तिम खेल उदय उच्च माध्यमिक विद्यालय र भानु सेकेण्डरी स्कुलविच हुने खेलकूद समितिले जनाएको छ । अन्य प्रतियोगिताका सम्पुर्ण खेलहरु भने सकिएको र विजयी खेलाडी तथा विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडलहरु समेत प्रदान गरिएको छ । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने मुल नाराका साथ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि जिल्ला खेलकूद विकास समितिले आयोजना गरेको हो । यस वर्षको रनिङ्ग शिल्ड प्रतियोगिता केही फरक ढङ्गबाट सञ्चालन गरिएको छ । विगतका वर्षहरुमा विद्यालयहरुलाई सिधै जिल्लामै आह्वान गरेर प्रतियोगिता सम्पन्न गरिन्थ्यो भने यस वर्ष सुरुमा जिल्लाका तीन वटै क्षेत्रमा क्षेत्रीय स्तरका प्रतियोगिताहरु सम्पन्न गरी अन्तिममा फाईनल खेल प्रतियोगिता सदरमुकाममा आयोजना गरिएको थियो । समितिले फाईनल प्रतियोगिता अघि क्षेत्र नं. १ को शान्तिपुरमा फागुन १० र ११ गते, क्षेत्र नं. ३ को अर्जैमा १३ र १४ गते र क्षेत्र नं. २ को सदरमुकाम तमघासमा १६ र १७ गते क्षेत्रीय स्तरका प्रतियोगिता सम्पन्न गरेको थियो । रनिङ्ग शिल्ड प्रतियोगिताको सोमबार एक समारोहका विच स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा जिल्लाका विभिन्न ३४ बिद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत छात्र–छात्रा भलिबल प्रतियोगिता, विभिन्न चरणका दौडहरु, सर्टफुट, ज्याब्लिङ्ग थ्रो, हाईजम्प, लम्मजम्प, ट्रिपल जम्प लगायतका रहेका छन् । मंगलबार भएका खेलहरु मध्ये छात्रा भलिबल प्रतियोगितामा सिद्धबाबा उच्च माध्यमिक विद्यालयको समुह प्रथम भएको छ भने हर्राचौर उच्च माध्यमिक विद्यालय द्धितीय भएको छ । त्यस्तै ८ सय मिटर दौडतर्फ अमरपुर उच्च माध्यमिक विद्यायकी सिर्जना गौतम र हिमालय उच्च माध्यमिक विद्यालयका सुरज परियार प्रथम भएका छन् । १५ सय मिटर दौडमा त्रिभुवन उच्च माध्यमिक विद्यालयकी शोभा राना र महेन्द्र उच्च माध्यमिक विद्यालयका अरुण खड्का प्रथम भएका छन् । त्यस्तै ५ हजार मिटर दौडमा हिमालय उच्च माध्यमिक विद्यालयकी गोमा कुवँर र त्रिभुवन उच्च माध्यमिक विद्यालयका नरबहादुर थापा प्रथभ भएका छन् । ज्याब्लिङ्ग थ्रोमा अमर उच्च माध्यमिक विद्यालयका छात्र विनोद विक र नयाँगाउँ उच्च माध्यमिक विद्यालयकी मनकला घर्ति मगर प्रथम भएका छन् । सर्टफुटतर्फ रामराज्य उच्च माध्यमिक विद्याययकी छात्रा पेउली परियार र छात्रतर्फ अमर माध्यमिक विद्यालयका तेजेन्द्र बुढा प्रथम भएका छन् । ट्रिपलजम्पतर्फ मालिका उच्च माध्यमिक विद्यालयकी शारदा पुरी र हिमालय उच्च माध्यमिक विद्यालयका प्रविण गौतम प्रथम भएका छन् भने लङ्गजम्पतर्फ हर्राचौर माध्यमिक विद्यालयकी अस्मिता श्रीस र राष्ट्रिय उच्च माध्यमिक विद्यालयका नन्दु परियार प्रथम भएका छन् । हाईजम्पतर्फ त्रिभुवन उच्च माध्यमिक विद्यायलकी ममता रायमाझी र जनता उच्च माध्यमिक विद्यालयका शिशिर श्रेष्ठ प्रथम भएका छन् । प्रतियोगिताको भोली एक समारोहका विच सम्पन्न गरिने समितिका सदस्य सचिव दिपक के.सी.ले जानकारी दिनुभयो । उहाँले समय अभावका कारण सम्पन्न हुन बाँकी रहेको भलिबलको अन्तिम खेल बुधबार विहान राखिएको र त्यसपछि प्रतियोगितको समापन गरिने बताउनुभयो । अहिले पछिल्लो बर्षमा खेलकूद विकासको क्षेत्रमा गुल्मी जिल्ला राष्ट्रिय स्तरमै चिनिन थालेको छ । खेलका विभिन्न विद्यामा जिल्लाले राम्रा स्थानहरु ल्याउन समेत सफल भएको छ । यसले गर्दा पनि जिल्लाको नाम उँचो भएको सबैले महसुस गरेका छन् । तर पनि जिल्ला स्तरमा संबन्धित पक्षले यसको विकासका लागि खासै ध्यान नदिएको जिल्ला खेलकूद विकास समितिका सदस्य सचिव के.सी.ले गुनासो गर्नुभयो । प्रयाप्त आर्थिक श्रोत नहुँदा सोँचे जति कार्यक्रमहरु गर्न नसकेको उहाँले बताउनुभयो । सिमित आर्थिक श्रोतबाट भएपनि जसोतसो प्रतियोगिताहरु सञ्चालन गर्दै आईरहेको उहाँले बताउनुभयो ।

तस्बिर: पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मार्चपास गर्दै खेलाडीहरु

0 $type={blogger}: