जनार्दन घिमिरे |
गुल्मी आषाढ ८। : बगैंचाभरि राताराता दाना लटरम्म छन्। किसानले त्यही राता दानाका बोटमा डोको बाँधेका छन्। बारीका डिल र कुनाकुनामा रहेका बोट पनि राताम्य देखिन्छन्। गुल्मीको थोर्गास्थित लिची गाउँमा पुगेपछि हिजोआज देखिने दृश्य हो यो। यस क्षेत्रमा प्रमुख नगदे फलफूलको रूपमा लिचीलाई लिइन्छ।
यहाँका किसानले मकै खेती गर्नुभन्दा लिचीका बिरुवा लगाउन रुचाउने गर्छन्। यहाँका किसानले लिचीबाट वार्षिक ७० देखि ८० लाख रुपैयाँसम्म भित्र्याउने गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक दधि ज्ञवाली बताउँछन्।
सन् १९९१ मा समाजसेवी डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट बोकेर ल्याएको लिचीको बोट पहिलोपटक रोपेर लिची खेती सुरु गरेका हुन्। उनैको प्रेरणाले यो गाउँका बासिन्दाले सुरुसुरुमा आफैंले खानका लागि बोट रोपे। यो क्रम बढेपछि अहिले च्युरेक क्षेत्र लिची गाउँ बनेको छ।
यस गाउँमा यति बेला सबैभन्दा बढी लिची उत्पादन र बिक्री गर्ने किसानमा रुरु गाविस १ का टेकबहादुर विक छन्। उनी वार्षिक एक लाख ८० हजारसम्मको लिची बिक्री गर्छन्। 'बोटमा लिची हरिया छँदै व्यापारी लिन आउँछन्। राम्ररी पाक्न पनि पाएको हुँदैन। तपाईंलाई पाकेको र काँचोसँग के मतलब भयो र, आखिर बिक्री गर्ने नै हो भन्छन्', विकले भने, 'के गर्नु, हैरानै पार्छन्।'
लिचीको प्रचारप्रसार गर्न यहाँका किसानले तीन वर्षदेखि लिची महोत्सव मनाउँदै आएका छन्। यसपटक पनि उनीहरूले लिची महोत्सव मनाइसकेका छन्।
गाउँमा रूपन्देहीसम्मबाट आएका थोक व्यापारीले ३५ रुपैयाँ किलोमा लिची खरिद गर्छन्। उनीहरूले त्यही लिची सदरमुकाम तम्घासमा ल्याएर एक सय ४० रुपैयाँसम्ममा बिक्री गर्छन्। यहाँको लिची अहिले गुल्मीका विभिन्न भाग, पाल्पा र रूपन्देहीसम्म पुग्ने गरेको छ।
लिचीको प्रचारप्रसार गर्न यहाँका किसानले तीन वर्षदेखि लिची महोत्सव मनाउँदै आएका छन्। यसपटक पनि उनीहरूले लिची महोत्सव मनाइसकेका छन्। च्युरेक तरकारी तथा फलफूल कृषक समूहका अध्यक्ष एवं लिची उपसमितिका संयोजक लक्ष्मण ज्ञवालीका अनुसार महोत्सवले किसानमा उत्साह थप्ने गरेको छ। जिल्ला कृषि विकास कार्यालयका तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत नरहरि शर्मा घिमिरेले पहिलो पटक गाउँमा गएको अवस्थामा लटरम्म फलेका लिचीका बोट देखेपछि लिची गाउँ घोषणा गरेको बताउँछन्।
लिची उत्पादनतर्फ किसानलाई उत्प्रेरित र थप जागरुक बनाउन अहिले त्यस क्षेत्रमा जिल्ला कृषि विकास कार्यालयले लिचीका बोटबाट कलमी गरेर बिरु वा उत्पादन गर्न थालेको छ। कलमी लगाएका बोटबाट चाँडै उत्पादन चाख्न पाइने र चाँडै सप्रिने हुँदा किसानलाई कार्यालयले सहयोग गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए। उनका अनुसार फलफूल खेतीमा आँपपछि दोस्रोमा लिची पर्ने भएकोले यसलाई व्यावसायिक बनाउन सके किसानले राम्रो आम्दानी प्राप्त गर्न सक्छन्। लिची महोत्सवमा सहभागी भएका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्ती तथा पूर्वसांसद कमलराज श्रेष्ठलगायतले लिची गाउँलाई लिची गाविसको रूपमा विकास गर्नुपर्ने बताए। - अन्नपूर्ण
0 $type={blogger}:
Post a Comment