Friday, January 3, 2014

एमाओवादी फेरि फुटको संघारमा

पुस १९, काठमाडौं ।
समानुपातिक सभासद सिफारिस गर्ने विषयमा एकीकृत नेकपा माओवादीभित्र उत्पन्न विवाद चर्कैंदै जाँदा पार्टी फुटको संघारमा पुगेको छ। पूर्व उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालविरूद्ध मोर्चाबन्दी कस्दै लगेपछि एमाओवादी थप संकटमा फसेको हो। बुधबार साँझ लाजिम्पाटस्थित दाहाल निवासमै पुगेर भट्टराई र श्रेष्ठले निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकको सूची सच्याउनुपर्ने भन्दै ‘संयुक्त फरक मत’ दर्ज गरेका थिए। दाहालले भने त्यसलाई घुर्की भन्दै ठाडै अस्वीकार गरिदिएका छन्। भट्टराई–श्रेष्ठले ‘विधि र प्रक्रिया मिचेर सभासद चयन गरेको’ भन्दै दाहाललाई फरक मत बुझाएका थिए। भट्टराई र श्रेष्ठले ‘हेडक्वाटर’ मा बुझाएको लिखित विरोधपत्रमा समानुपातिकतर्फका सूचीप्रति आपत्ति जनाउँदै ‘सच्याउन’ माग गरे पनि दाहालले फरक मतलाई सम्मान गर्ने, तर ‘घुर्की’ अस्वीकार गर्ने भन्दै भट्टराई र श्रेष्ठको विरोधपत्रको सुनुवाइ नगर्ने जवाफ दिएको लाजिम्पाट स्रोतले बतायो। भट्टराई र श्रेष्ठले केन्द्रीय समितिले तय गरेको मापदण्डविपरीत सूची निर्माण गरेको, सबै जिल्लाबाट प्रतिनिधित्व गराइने भनिए पनि २० जिल्लाबाट प्रतिनिधित्व नै नगराइएको, सशस्त्र युद्धमा ज्यान गुमाएका, बेपत्ता र घाइतेलाई प्राथमिकतामा नराखिएको, जनआन्दोलनमा कुनै पनि योगदान नदिएका व्यक्तिलाई समावेश गरिएको जस्ता बुँदा उल्लेख गर्दै लिखित विरोधपत्र दाहालसमक्ष बुझाएका हुन्। ‘समानुपातिक सूची छनोटको प्रक्रिया र विधिमा विरोध जनाउँदै सच्याउन आग्रह गर्दछौं,’ भट्टराई र श्रेष्ठले संयुक्त हस्ताक्षर गरेको पत्र उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षले सकारात्मक रुपमा लिने विश्वाससहित विरोधपत्र बुझाएका छौं।’ भट्टराई र श्रेष्ठले आफ्नो विरोधपत्रमा ‘फरक मत’ लाई अध्यक्ष दाहालले सम्मान नगरेको पनि आरोप लगाएका छन्। निर्वाचन परिणामले तेस्रो स्थानमा झरेलगत्तै ‘संविधानसभामा नजाने’ घोषणा गरेको एमाओवादीभित्र अन्ततः संविधानसभामा को–को जाने भन्ने विषयमा भएको हानथापले उग्र रुप लिएको हो। भट्टराई र श्रेष्ठले दाहालविरुद्ध घोषित रुपमै मोर्चाबन्दी गरेपछि त्यसको असर क्रमशः तल्लो निकायसम्म पर्न थालेको छ। सूची छनोट गर्न डाकिएको केन्द्रीय कार्यालयको बैठकमा भट्टराई र श्रेष्ठ अनुपस्थित भएदेखि सुरु भएको विवाद फरक मत हुँदै प्रत्यक्षतर्फका सभासद महेन्द्रबहादुर शाही (कालिकोट) को राजीनामासम्म पुगिसकेको छ।

धादिङमा कार्यकर्ताले पार्टी कार्यालय जलाएका छन् भने वीरगन्जमा संस्थापन (दाहाल पक्ष) र भट्टराई पक्षबीच पत्रकार सम्मेलनमै कुटपिटसम्म भएको छ। तर, दुवै पक्ष आ–आफ्ना अडानमै रहेकाले एमाओवादी थप संकटमा परेको हो। ‘पहिलो बैठकमा छलफल गरौं न त भन्दा आउनुभएन, अहिले सच्याउनुपर्छ भनेर कुन आधारमा भन्नुहुन्छ?,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कस–कसलाई हटाउने र राख्ने हो? त्यो निर्क्याेल गरेर आउनुस्, होइन भने घुर्की लगाएर पार्टी र नेतृत्वलाई अप्ठ्यारोमा पार्न पाइँदैन।’ दाहालले सच्याउन सक्ने ठाउँ नभएको र शतप्रतिशत नयाँ अनुहारलाई प्राथमिकतामा राख्दै विधिसम्मत तरिकाले सूची बुझाएको जवाफ भट्टराई र श्रेष्ठलाई बुधबार दिएका छन्। पेस गरिएको सूची नसच्चिने संकेत पाएपछि भट्टराई र श्रेष्ठ लाजिम्पाटबाट फर्केका थिए। बिहीबार फेरि बैठक बस्ने भएकाले कसरी जाने भन्ने रणनीतिमा भने भट्टराई र श्रेष्ठ पुगिसकेका छैनन्।

यता, दाहाल पक्षले ‘नेतृत्वलाई असफल पार्ने गुरुयोजना’ अनुसार भट्टराई र श्रेष्ठले बैठकमा अनुपस्थिति जनाउँदै समानुपातिकमा विवाद निकालेको ठहर गरेको छ। र, त्यसको सामाना गरेर जाने निचोड पनि निकालिसकेको छ। मंगलबारको सोही निचोडअनुसारको जवाफ बुधबार अध्यक्ष दाहालले भट्टराई र श्रेष्ठलाई दिएको दाहाल निकटस्रोतले जनायो। दाहालले पार्टीभित्र भट्टराई र श्रेष्ठ गुटबन्दी गरेर आउन सक्नेबारे पूर्वसतर्कता अपनाउँदै नामावली छनोटमा सावधानी अपनाइएको लाजिम्पाट स्रोतको दाबी छ। दाहालले भट्टराई र श्रेष्ठबीच हुन सक्ने गुटबन्दीका बारे पुस १४ को केन्द्रीय समिति बैठकमा नै संकेत गरिसकेका थिए। ‘गुट ध्वस्त गरेर पार्टी निर्माण गर्ने कुरा सबैले गर्नुभयो, प्रतिबद्धता पनि जनाउनुभयो, साँच्चै पार्टी निर्माण हुन्छ कि विघटनको दिशामा जान्छ भन्ने अब दुई मोडमा पुगेपछि मात्रै थाहा हुन्छ,’ दाहालको १४ पुसको अभिव्यक्ति उद्धृत गर्दै दाहाल निकट एक सदस्यले भने, ‘पहिलो समानुपातिकतर्फको सूची निर्माण गर्ने बेला र दोस्रो केन्द्रीय समितिलाई सानो आकार गराउने बेला। यी दुइटा मोड सजिलै पार गर्न सकियो भने पार्टी नयाँ बन्छ, नत्र विघटनमा जान्छ।’ दाहालले यी दुई प्रसंगलाई आगामी पार्टी जीवनका लागि निकै खतरनाक मोड भएको पूर्वसंकेत दिएका थिए। ‘आजबाट गुटबन्दी घोषित रुपमा नै देखा परेको छ, त्यसको सामना गरेर जाने पक्षमा हामी छौं, पछाडि फर्कंदैनौं,’ दाहाल निकट अर्का नेताले नागरिकसँग भने। ती नेताका अनुसार ‘घुर्की’को राजनीतिलाई असफल बनाउने पक्षमा संस्थापन पक्ष छ। अचम्म त यो छ कि गुटबन्दी अन्त्य गर्ने भनी पुस १२ गते नेताहरूले गरेको सामूहिक प्रतिबद्धताको एक सातापछि मंगलबार सानेपा निवासमा भट्टराई समूहको, कोटेश्वरमा श्रेष्ठ समूहको र लाजिम्पाटमा संस्थापन (दाहाल) समूहको छुटाछुट्टै बैठक बसेको थियो। - नागरिक दैनिक बाट

0 $type={blogger}: