जनार्दन घिमिरे गुल्मी, कात्तिक २५
लुम्बिनी अञ्चलमा रुपन्देहीपछि गुल्मीमा केन्द्रीय नेताहरुको उम्मेदवारीले चुनावी सरगर्मीलाई रोचक बनाएको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा यसपटक कसले बाजी मार्छ भन्नेमा सबैका आआफ्नै तर्क र अनुमान छन् ।
अघिल्लो संविधानसभा चुनावमा एकीकृत नेकपा माओवादीले दुईवटा र नेकपा एमालेले एउटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो । यसपटकको चुनावमा यी दुई दल र नेपाली कांग्रेसले समेत आफ्नो जित हुने दावी गर्दै आएको छ ।
क्षेत्र नं १ मा एकीकृत नेकपा माओवादीको तर्फबाट सुदर्शन बराल, नेपाली कांग्रेसबाट कृष्णबहादुर छन्त्याल र नेकपा एमालेबाट मैना भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा तीनवटै दलहरुको संगठन मजबुत रहेकोले कसले बाजी मार्ला भनेर सहजै अनुमान गर्न सकिने स्थिति छैन ।
क्षेत्र नं २ मा एकीकृत नेकपा माओवादीबाट अशोक थापा, नेपाली कांग्रेसको तर्फबाट चन्द्र भण्डारी र नेकपा एमालेको तर्फबाट प्रदीप ज्ञवाली उम्मेदवार बन्नुभएको छ । थापा जिल्लास्तरमा जुझारु युवा नेताको रुपमा चिनिनुहुन्छ भने भण्डारी कांग्रेस केन्द्रीय सदस्य र ज्ञवाली एमालेको प्रचार बिभाग प्रमुख हुनुहुन्छ । विगतको नतिजा हेर्दा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा रहेको यस क्षेत्रमा यसपटक पनि मुख्यतः यीनै दुई पार्टीबीच दह्रो चुनावी प्रतिस्पर्धा हुने अनुमान धेरैले गरेका छन् ।
क्षेत्र नम्बर तीनमा एकीकृत नेकपा माओवादीबाट वामदेव क्षेत्री, नेपाली कांग्रेसबाट त्रैलोक्य प्रताप सेन र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट चुनावी मैदानमा हुनुहुन्छ । स्थानीय स्तरमा यी तीनै नेताहरुको बलियो पकड रहेको हुँदा यस क्षेत्रमा त्रिपक्षीय भीडन्त हुने देखिन्छ । तर क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले यो पटकको चुनावी निर्वाचनमा दुईवटा कुनै न कुनै ठूला दलहरुलाई प्रत्यक्ष असर पार्ने देखिन्छ ।
माओवादीले गत संविधान सभा निर्वाचनमा आफूले पाएको मत सुरक्षित रहेको दावी गरेको छ । चारवर्षमा आफूले गरेका विकास निर्माणका काम बताएपछि मतदाता विश्वस्त भएको आधार देखाउँदै यसपटक आफ्नो जीत निश्चित हुने नेताहरु बताउँछन् ।
नेपाली काँग्रेसले पनि विकास कसरी संचालन गर्नुपर्छ भन्ने तागत र प्रमाण आफूसँग भएकोले यसपटक तीनै सिट आफ्नो पक्षमा आउने दावी गर्दै आएको छ ।
नेकपा एमाले संगठनको हिसाबले मजबुत र विकास निर्माणमा अगुवाई गर्न सक्ने क्षमता भएकाले सबै सिट
जित्नेमा विश्वस्त छ ।
मतदाता उत्साहित
राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवार आफ्नो पक्षमा जनमत बटुल्नका लागि मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । जिल्लामा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले चुनावी प्रचारप्रसारलाई चुनावी सभा र घरदैलो अभियानमा केन्द्रित गरेपछि मतदाताहरु समेत उत्साहित बनेका छन् । लामो समयपछि नेताहरु आफ्नो घरदैलोमा आउँदै मत माग्दै गर्न थालेपछि उनीहरुमा खुशी थपिएको हो ।
एकीकृत नेकपा माओवादीले आफ्नो प्रचार अभियानलाई घरदैलो कार्यक्रममा केन्द्रित गरेको छ । उसले मतदाताहरुसँग संविधान निर्माण गर्नेदेखि जिल्लाको विकास निर्माणलाई प्रमुख प्राथमिकता दिने बताएको छ ।
नेपाली कांग्रसले पनि चुनावी अभियानलाई विषेशगरि चुनावी सभा र घरदैलोमै केन्द्रित गरेको छ । संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता नागरिकको मौलिक अधिकारलाई संविधानमा ग्यारेण्टी गरि विकासको प्रत्यक्ष अनुभूति गराउने कांग्रेसको दावी छ ।
यसैगरी नेकपा एमालेको चुनावी अभियान शैली पनि उस्तै रहेको छ । यो पटक एमालेले पनि निर्वाचनलाई चुनावी सभा र घरदैलो अभियानलाई प्राथमिकता दिँदै आएको छ । एमालेले संविधान निर्माणका साथै विकास निर्माण र सुशासनको मुद्दालाई अगाडि सारेको छ ।
यसपटक मतदाताहरु हाम्रो हैन राम्रो उम्मेदवारलाई मतदान गर्ने सुरमा छन् । क्षेत्र नम्बर एकमा ३९,३७०, दुईमा ६०,३८४ र क्षेत्र नम्वर तीनमा ५१,०१० गरी कुल १ लाख ५० हजार ६ सय ६४ मतदाताहरु रहेका छन् ।

0 $type={blogger}:
Post a Comment